सोसल मिडिया
Contact Us
युनिकोड
चितवन । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो । असार लागेसँगै घट्दै गएको सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो सङ्ख्या एक हजार २७१ पुगेको छ । सक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत सङ्क्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव४३ प्रतिशत रहेको छ । कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको बताउछन्। भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका फिजिसियन डा भोजराज अधिकारी गम्भीर प्रकृतिका सङ्क्रमित नभएर मध्यम र सामान्य प्रकृतिका सङ्क्रमित बढेको बताउँछन् । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको आशङ्का हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि सङ्ख्या बढेको हुनसक्ने उनको अनुमान छ । बर्सातको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेको भन्दै उनले भने, “यस्ता कारणले गाउँघरमा सङ्क्रमितको सङ्ख्या झन् बढ्न सक्छ ।” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे । निषेधाज्ञा खुकुलो भए पनि सङ्क्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उनले सुझाव दिए । सङ्क्रमितको सङ्ख्या १६ हजार ८६३ पुगेको छ । रासस