ऐतिहासिक ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न 

शुक्रबार, असार ६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । ऐतिहासिक पाशुपति क्षेत्रमा ‘मचाती’ त्रिशुल जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष असार कृष्ण पक्षको भलभलाष्टमीका दिन मनाइने ऐतिहासिक त्रिशुल जात्रा वर्षातका बावजुद पनि सम्पन्न भएको हो । बिहीबार जय मंगला बछलेश्वरी डवली, पशुपति वज्र घर र जयवागेश्वरी परिसरमा रहेको सत्तलबाट जात्रा निकालिएको थियो । तीन वटा रथसहित नगर परिक्रमा गराई जात्रा सम्पन्न भएको हो ।  यो जात्रामा बालबालिकालाई खटमा राखी बोकेर बाजागाजाका साथ नगर परिक्रमा गराउने प्रचलन रहेको स्थानीय बुद्धिजीवी मुकुन्द बैद्यले बताए । जात्रा जयवागेश्वरी पुगेपछि त्यहाँबाट पनि दुई बालिकालाई कुमारी र एक बालकलाई कुमारको रूपमा खटमा राखी जात्रामा सम्मिलित गराइन्छ । त्यसपछि तीन वटै खटलाई सिफलको उकालो चलँपास्सम्म पुर्याई त्यहाँबाट फर्काएर नगर परिक्रमा गराइसकेपछि आर्यघाटमा जात्रा समापन गरिने वैद्यले बताए ।  बन्धुदत्त आचाजुको छोराको शवको प्रतीकलाई भष्मेश्वरी राजराजेश्वरीमा सेलाइन्छ । देवमाला वंशावलीमा यो जात्रा राजा अमर मल्लले नेपालसंवत् ६३४ देखि चलाएको पाइन्छ । नेपालका आराध्यदेव भगवान श्रीपशुपतिनाथ पुस्तकमा भने यो जात्रा राजा यक्ष मल्लले नेपालसंवत् ६३४ ‘वि.सं.१५७००’ मा चलाइएको उल्लेख गरिएको छ ।  मचाति जात्राका लागि वैशाखशुक्ल पूर्णिमा बुद्ध जयन्तीका दिन जयबागेश्वरी देवीको वर्षवद्र्धन पूजाको रात कुमार–कुमारी छान्ने परम्परा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार