सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा गौलीले बताए । डा. गौलीले भने,“बाढीपहिराले खाने पानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको छ । आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । बाढीपहिराबाट विस्थापित भएका नागरिक एउटै कारागार भवनमा ३०० जना बसेका छन् । त्यस कारणले कोभिड– १९ को मात्र नभएर पानीजन्य रोग फैलिने होकी भन्ने हाम्रो चिन्ता छ ।” अस्पतालमा आजभोलि पानीजन्य सम्बन्धित रोगका बिरामी धेरै आउने गर्दछन् । “अहिले नै पानीजन्य रोगको सङ्क्रमणले महामारीको रुप त लिएको छैन तर, यस्ता सरुवा रोगदेखि सचेत हुनुपर्दछ ।” यो वर्ष कोरोना महामारीको उच्च जोखिम त्यसमाथि बाढीपहिराले पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने भन्दै डा गौलीले जिल्लावासीलाई सचेत रहन आग्रह गरे । उनी भन्छन्,“बाध्यतावस जिल्लामा बाढीपहिरोबाट विस्थापित नागरिक एकै ठाउँमा बसेका छन् । तर, बस्दा सरसफाइदेखि लिएर खानेपानीलाई उमालेर हुन्छ कि अन्य शुद्विकरणका उपाय अपनाएर मात्र पिउन जिल्लावासीलाई अनुरोध गर्दछु ।” वर्षात् शुरु भएसँगै ब्याक्टेरिया, भाइरस तथा जीवाणु बढी सक्रिय हुने गर्दछ । गर्मी एवं वर्षायाममा रोगको प्रकोप अन्य यामको तुलनामा बढ्ने गर्दछ । जसले गर्दा यो मौसममा झाडापखला, जण्डिस, भाइरल ज्वरो, डेङगु, आँैलौ, सर्पदंशलगायतका बिरामीको सङ्ख्या बढ्ने गरेको चिकित्सकको भनाइ छ । जिल्लामा बाढी पछि आउन सक्ने पानीजन्य रोगको जोखिम भएकाले सबैले सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय मनाङको आग्रह छ । यस परिस्थितमा उद्धार, राहतका कार्यमा जुट्दा कोरोना विरुद्धको स्वास्थ्यका मापदण्ड नअपनाउँदा, सफा पिउने पानी नपाउँदा, लामखुट्टेबाट बच्न नसक्दा, उपयुक्त गाँस र बाँसको प्रबन्ध राम्रो नहुँदा झनै स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउन सक्ने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य प्रमुख आचार्य बताउनुहुन्छ । रासस