सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर आज घट्ना भएको ६ वर्ष १० महिना १६ दिन पूरा हुँदा पनि अपराधी पत्ता लाग्न सकेको छैन । घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको दाबी गरे पनि दुई वर्षयता निर्मलाकी आमा दुर्गादेवीको घरमा अनुसन्धान टोलीले पाइला टेकेको छैन । ‘अपराधी पत्ता लगाउँछन र न्याय पाइन्छ भन्ने आशा नै मरिसक्यो । नहुनु घट्ना भयो, मन शान्त छैन । तर राम्रो अनुसन्धान होला र अपराधी पक्राउ पर्छन् भन्ने आशा गरेकि छैन । अनुसन्धान टोलीलाई छिटो अपराधी पत्ता लगाइदिन भनिदिनुहोला’, दुर्गादेवीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा भनिन् । घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समयसम्म स्वदेश तथा विदेशमा आन्दोलन नै भयो । सामाजिक संजाल एवम डिजिटल प्लेटफर्मतिर सरकारको चर्को आलोचना भयो तर प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन सकेन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सय २० भन्दा बढी व्यक्तिहरूमा अनुसन्धान गर्यो । केहीलाई कस्टडीमै राखेर अनुसन्धान गर्यो तर घट्नामा प्रत्यक्ष संलग्न अपराधी पत्ता लगाउन सकेन । हालका गृहमन्त्री रमेश लेखक कञ्चनपुरको सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले गृह मन्त्रालयको पदभार ग्रहणपछि एक सार्वजनिक समारोहमा निर्मलाका हत्यारा जसरी पनि पत्ता लगाउने बचन दिएका थिए । जुन दिन बचन दिए त्यसदिनदेखि निर्मलाको प्रसंग उठाएका छैनन । नेपाली प्रहरी एवम् सीआइबीसँग उक्त घट्नाका सम्बन्धमा कुनै किसिमको छलफल, संवाद एवम निर्देशन नदिएको लेखककै निजी सचिवालयका एक सदस्यले जानकारी दिए । ‘निर्मलाका विषयमा थप अनुसन्धान गर्नेगरी नयाँ रणनीति बनाएको हामीलाई जानकारी छैन्’, ती सदस्यले भने । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता युवराज खड्काले निर्मला पन्तको जस्तो जटिल केसमा सूक्ष्म अनुसन्धान सँधै जारी रहने गरेको बताउँछन् । तर पछिल्लो अनुसन्धानबाट प्राप्त प्रगति विवरण सीआइबीले सार्वजनिक गरेको छैन । नेपालको इतिहासमै सबैभन्दा बढी छानबिन समिति बनेको, सडकदेखि सदनसम्म आवाज उठेको र मानव अधिकारकर्मीले घट्नाको छानविन गरेको यो नै पेचिलो घट्ना होला । तर निष्कर्ष केही पनि निस्किएको छैन । मानव अधिकारकर्मी राजन कुईंकेल निर्मला पन्तको घट्नाबारे निष्पक्ष छानविन गर्न नसक्नु राज्यको निरिहता र कायरता भएको बताउँछन् । ‘नेपाल प्रहरीले धेरै जटिल केसहरूको अनुसन्धान गरेको छ । विदेशबाट अपराधी पत्ता लगाएर नेपाल ल्याएको धेरै उदाहरण छन्, गर्न नसक्ने भन्ने नै हुँदैन । नेपाल प्रहरीको अनुसन्धान धेरै मजवुद पनि छ । कतिपयले प्रमाण नष्ट भइसक्यो भन्छन् तर प्रमाण नष्ट हुनै सक्दैन । यसमा ठूलो दबाब र प्रभाव छ । राज्य लाचार भएको छ र पीडकहरू छाती फुलाएर हिँडिरहेका छन्’, उनले भने । कुईंकेलले घटनालाई नयाँ सिराबाट अनुसन्धान सुरु गर्नुपर्ने सुझाव दिन्छन् । निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुंगोमा पुर्याउने आश गरिएको थियो । उनीहरूले पनि कुनै परिणाम दिन सकेनन् । ‘गृहमन्त्रीका रुपमा राम्रोसँग ६ महिनामात्र रवि लामिछानेलाई काम गर्न दिएको भए धेरै अपराधी र भ्रष्टाचारी जेल गइसक्थे । उहाँलाई काम गर्नै दिइएन । ठूला दल भनिएका नेताहरूको पोल खुल्ने डरले अनुसन्धानलाई प्रभावित पार्ने काम भयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने । त्यस्तै, हालका गृहमन्त्री लेखक निर्मलाकै क्षेत्रका भएकाले अनुसन्धान बलियो हुन्छ भन्ने आशा गरिएको थियो । उनले पनि हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी आफूले पूरा गराइछाड्ने बताउन छाडेका छैनन् । तर काम केहीपनि अघि बढेको छैन् । हुनत ठूलो खर्च गरेर प्रहरीले अनुसन्धान नगरेको होइन् । बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा १२४ जनाको डीएनए जाँच नै गरिएको थियो । तर कसैसँग पनि डीएनए म्याच नगरेको विवरण सार्वजनिक गरिएको छ । छोरीको न्यायका लागि भन्दै निर्मलाका आमा–बुवाले न्यायलय धाउने मात्र नभइ अनशन नै पनि बसे । काठमाडौंसमेत पुगेर प्रधानमन्त्रीलाई भेटे, जिल्ला प्रहरी कार्यालय दर्जनौं पटक धाए तर, निर्मला हत्याका वर्षहरू घर्किँदै जाँदा उनीहरूको आशा पनि मर्दै गएको छ । विभिन्न प्रतिवेदनमाथि कुनै छानविन नै भएन् । मानवअधिकारकर्मी एवम अधिवक्ता इन्द्र ढुंगानाका अनुसार तत्कालीन अवस्थामा उच्चस्तरीय छानविन समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदनको कार्यान्वयन नहुँदा समस्या जटिल बनेको छ । समितिले बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापर्वाही र हेलचेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको थियो तर प्रतिवेदन नै कार्यान्वयन नहुनुलाई रहस्यका रुपमा हेरिएको छ ।