बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ 

मंगलबार, असार २२, २०७८

ढाका । बङ्गलादेशमा लागु भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ  । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागु हुने भएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । 
सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो ।  बङ्गलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ ।
मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् । बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ ।  त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ६६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार