आजको राशिफल

सोमबार, जेठ १९, २०८२
Global Ime Bank
मयुर प्लाई

आज बिसं २०८२ जेष्ठ १९ गते सोमबार, ईसं २०२५ जुन २, नेपाल सम्बत ११४५ तछलाथ्व सप्तमी, नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल सप्तमी , चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, व्याघात योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ०८ मिनेट देखि ६ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । आशा देखाउने वा आश्वासन दिनेले धोका दिनेछन्, आफ्ना सुरमा काम गर्ने वेला हो, कुनै लफडा वा झमेलामा फँस्ने सम्भावना रहेको छ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ ।(ज्योपं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद)

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
आजको राशिफल
सोमबार, जेठ १९, २०८२

आजको राशिफल
सोमबार, जेठ १९, २०८२

आजको राशिफल
सोमबार, जेठ १९, २०८२