सोसल मिडिया
Contact Us
युनिकोड
कोटाबाटो (फिलिपिन्स) । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिक चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् । सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार स्थानीय समयअनुसार विहान ११.३० बजे विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताए । सचिव लोरेन्जोले विमानमा सवार ४० जना घाइते भएका र उनीहरुको उद्धार गरिएको जानकारी दिए । उनले तीन जना विमान चालक, अरु पाँच जना सहयोगीसहित विमानमा ९२ जना रहेको बताए । स्थानीय सञ्चारमाध्यमले खिचेका तस्वीरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकैका घरमाथि बाक्लो कालो धुँवा देखिएको छ । सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिक लिएर गैरहेको विमान दुर्घटनामा परेको बताए । उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए । उद्धार गरिएका ४० जनाको नजिकैको सैनिक अस्पतालमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो । फिलिपिन्सका हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मेनार्ड मारिआनोले दुर्घटनाको कारणका बारेमा चाँडै अनुसन्धान शुरु हुने जानकारी दिए ।– एएफपी