तालिबान समूहद्वारा कन्दहार जिल्ला नियन्त्रणमा 

सोमबार, असार २१, २०७८

कन्दहार (अफगानिस्तान) अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ ।  अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ ।  कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीले नियन्त्रणमा लिएका छन् । बघराम हवाइ मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदा विरुद्ध दुई दशक हवाइ आक्रमण गर्ने गरेको थियो । विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटकपटक सङ्घर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ । 
पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिए । उनले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताए । कन्दहारका प्रान्तीय परिषद्का प्रमुख सईद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाए ।
हालैका सातामा अफगानिस्तानका धेरै प्रान्तमा सङ्घर्ष भइरहेका छन् र देशका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिवानले दाबी गरेको छ । बघराम हवाई मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्र आफ्नो नियन्त्रणमा लिन थप सङ्घर्ष गर्ने अनुमान गरिएको छ । सरकारी फौजले बघराम हवाई मैदानलाई आतङ्कवाद विरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूले विमानस्थलको राडार प्रणालीलाई पुनःसञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ ।–एएफपी

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार