प्रतिनिधिसभा विघटनमा निवेदकका तर्फबाट जवाफी बहस

  निवेदकको बसह सकिएलगत्तै आजै एमीकस क्युरीको पनि बहस 
सोमबार, असार २१, २०७८

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ । जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस शुरु गरेका हुन् । प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरूले जवाफी बहस शुरु गर्नुअघि विभिन्न प्रश्नहरू राखेका थिए । उनीहरूले शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ ?, १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो ? संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो ?, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन् । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनेछन् । त्यसअघि सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनु पर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुकेको तर्क राखेका थिए । 

‘विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?’
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गरेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिनिसभा विघटनसम्बन्धी मुद्दामा न्यायाधीश खतिवडाको प्रश्न थियो, ‘विश्वासको मत नपाएको प्रधानमन्त्रीले नै हो, विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार त छ नि होइन ? विश्वास मत पाएको मान्छेले किन विघटन गर्छ ?’  जवाफमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले भने, ‘त्यो हो श्रीमान् तर कुन कुन उपधाराबाट प्रधानमन्त्रीले बिघटन गरेको भन्ने हो, प्रधानमन्त्री संविधानको धारा ७६ (३) अनुसारको प्रधानमन्त्री हो, ७६(५) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत नपाए पो उपधारा ७ अनुसार विघटन सिफारिस गर्ने हो ।’ वरिष्ठ श्रेष्ठको विश्वासको मत नपाएपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने तर्क थियो ।  रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि छुट्याइएको तीन घण्टा समयमा वरिष्ठ अधिवक्ता श्रेष्ठले बसह गरेका छन् । सोमबारका लागि दुईघण्टा जवाफी बहस बाँकी छ । त्यसपछि अदालतको सहयोगी (एमीकस क्युरी) ले दुई घण्टा बहस गर्ने गर्नेछन् । एमीकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् । सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पनि एमीककस क्युरीको रुपमा पठाएको छ । सोमबार जवाफी बहस सकिएपछि एमीकस क्युरीको पालो आउनेछ । एमीकस क्युरीले कानूनअनुसार अदालतलाई आफ्नो स्वतन्त्र राय दिनेछन् ।
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार