सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडाै । सर्वाेच्च अदालतले नेपाल नागरिकता ९पहिलो संशोधन ० अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न भनी अन्तरिम आदेश दिएपछि पनि राष्ट्रियसभाको आजको बैठकमा सदस्य रामनारायण बिडारीले नियमापत्ति गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपप्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई उक्त अध्यादेश पेश गर्न अनुमति दिएपछि सांसद बिडारीले नियमापत्ति गरेका हुन् । सर्वाेच्च अदालतले गत जेठ २७ गते उक्त अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालगायतको संवैधानिक इजालसले उक्त अध्यादेश यथास्थितिमा राख्न आदेश जारी गरेको थियो । संविधानको अन्तिम व्याख्याता सर्वाेच्च अदालत नै भएको जनाउँदै उनले अध्यादेश पेश नगर्न आग्रह गरे । सभाध्यक्ष तिमिल्सिनाले सांसद बिडारीले उठाएको नियमापत्तिका सम्बन्धका ध्यानाकर्षण भएको जनाउँदै त्यसबारेमा सम्बन्धित मन्त्रीले स्पष्ट पार्ने बताए । सांसद बिडारीको उक्त आग्रहपछि मन्त्री नेम्वाङले सर्वाेच्च अदालतमा रिट निवेदन परी तत्काल कार्यान्वयन नगर्नू भन्ने फैसला आएकाले जानकारीका लागि मात्रै पेश गरिएको बताए ।
नागरिकतासहित १६ अध्यादेश पेश राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गरे । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, पेश गरे । यसैगरी उपप्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ बैठकमा पेश गरे । मन्त्री नेम्वाङले रेल्वे अध्यादेश, २०७८ पनि बैठकसमक्ष पेश गरे । आजकै बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ पेश गरे । बैठकले राष्ट्रियसभाका पूर्वसदस्य गंगादत्त जोशी, डा शंकरप्रसाद उप्रेती, ऐश्वर्यलाल प्रधानाङ्ग, प्रा विदुर पौडेल, प्रतिनिधिसभाका पूर्वसदस्य एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा, मोतीप्रसाद पहाडी, हरिभक्त अधिकारी, कृष्णसिंह परियार, रत्नप्रसाद न्यौपाने, योगनारायण यादव एवम् तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादव, अशोक कोइराला, नवीन्द्रराज जोशी, लक्ष्मीदेवी भण्डारी, मोहम्मदी सिद्धिकी, शिवबहादुर खड्का, रबनी चौधरी तप्तबहादुर विष्ट र पशुपति चौलागाईँको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।