दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय

बुधबार, असार १६, २०७८

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय सुनाएको छ ।  अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै सवैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संवैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले जुमालाई सजाय हुने अदालती निर्णय सुनाए ।  अदालतले जुमालाई एन्कान्डला वा जोहानेसबर्गको प्रहरी चौकीमा पाँच दिनभित्र स्वयं उपस्थित हुन पनि आदेश दिएको छ । जुमाका निवास एन्कान्डला र जोहानेसबर्ग दुबै ठाउँमा छन् ।
जुमाले प्रहरीमा स्वयं उपस्थित नभइ अटेर गरे दक्षिण अफ्रिकी प्रहरी मन्त्री भेकी सिलेले तीन दिनभित्र आवश्यक व्यवस्था गरी जुमालाई सुधार गृहमा पठाउन पनि आदेश दिएको छ । पूर्वराष्ट्रपति जुमाले राज्य आयोगमा उपस्थित भएर बयान दिन अदालतले दिएको आदेश इन्कार गरेको भन्दै मानहानिको मुद्दा चलाइएको थियो  । सन् २०१८ मा गठन भएको यो आयोगले जुमाविरुद्ध राज्यको शक्तिमाथि हस्तक्षेप गरेको, भ्रष्टाचार गरेको तथा राज्यका स्रोतसाधनको दुरुपयोग गरेको अभियोगमा छानबिन गरिरहेको छ । 
गत फेब्रुअरीमा पनि जुमालाई आयोगमा उपस्थित हुन भनिएको थियो तर उनले उपस्थित हुन अस्वीकार गरेका थिए । आयोगका अध्यक्ष एवं न्यायाधीश रेमन्ड जोन्डोका कार्यहरु आफूविरुद्ध पक्षपातपूर्ण रहेको दाबी जुमाले गर्दै आएका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार