जर्ज फ्लोयडको हत्या आरोपी प्रहरीलाई साढे २२ वर्षको जेल सजाय

शनिबार, असार १२, २०७८

मिनियापोलिस । अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ ।  अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ वर्ष जेल सजाय तोकेको हो ।  गत वर्ष सन् २०२० मे २५ तारिखका दिन ती प्रहरी अधिकारीले फ्लोयडलाई आफ्नो घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।  दर्दनाक भिडियोका कारण हत्याका विरुद्धमा अमेरिका भरी आन्दोलन भएको थियो । हत्याको विरोधमा मानवअधिकारकर्मी र अश्वेत पक्षधरहरूले अन्य देशहरूमा पनि केही दिन प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्यु समेत भएको थियो ।   हत्याको विवरण प्राप्त गर्नासाथ स्थानीय प्रहरीले आरोपी प्रहरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो भने अदालतमा उनका विरुद्धमा मुद्दा दायर गरिएको थियो ।  
घटना भएको एक वर्षभन्दा बढी समयपछि अहिले मात्रै सो मुद्दामाथि अदालतले फैसला गरेको हो । प्रहरी अधिकारीले पाएको अधिकारको दुरुपयोग गरेको र अति दर्दनाक तरिकाले हत्या गरेको कारणले उनलाई २२ वर्ष ६ महिना जेल सजाय तोकिएको अदालतले जनाएको छ ।  चौभिनले ४८ वर्षीय फ्लोयडलाई नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । चौभिनलाई अब जीवनभर हतियार राख्न अनुमति दिन नमिल्ने कुरा समेत फैसलामा उल्लेख गरिएको जनाइएको छ । 
अदालतको फैसलाप्रति फ्लोयडका परिवारजनले सन्तुष्टि व्यक्त गर्दै राहत महसुस गरिएको प्रतिक्रिया दिएका छन् । सुनुवाईका क्रममा फ्लोयडका भाइ टेरेन्स फ्लोयडले चौभिनलाई ४० वर्षको सजाय हुनुपर्ने माग गर्नु भएको थियो । अदालतले भने झण्डै आधा मात्रै सजाय तोकेको हो ।–एपी 
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार