अफगानिस्तानबाट सेना फिर्ता भएपनि सहयोग जारी राख्ने बाइडनको प्रतिवद्धता 

शनिबार, असार १२, २०७८

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानका शीर्ष नेताहरू समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गरेका छन् । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरूबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ समीक्षा भएको छ ।  अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुअघि रक्षा मन्त्री लोयड अस्टिनसँग पेन्टागनमा अफगान सुरक्षा मामिला बारेमा छलफल गरेका थिए । राष्ट्रपति बाइडनले अफगानिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अमेरिकी सेना स्वदेश फर्कने समय आइसकेकामा जोड दिएका थिए । “अफगानिस्ताने आफ्नो भविष्यको निर्णय आफैं गर्नु पर्दछ,” राष्ट्रपति बाइडेनले अफगान नेताहरूसँगको आफ्नो भेटको शुरुमा संक्षिप्त टिप्पणी गर्दै भने । राष्ट्रपति बाइडेनले दिगो साझेदारी के हुन सक्छ भन्ने बारेमा विस्तृत वर्णन दिन चाहेनन् ।  बाइडन प्रशासनले आगामी सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने गरी तयारी भइरहेको अवस्थामा अफगान नेताहरू वासिङ्टन पुगेका हुन् । अफगानिस्तानमा अमेरिकी सेना बस्न थालेको २० वर्ष पुग्न लागेको छ । यस अवधिमा अमेरिकी र अफगानी सेना तथा सर्वसाधारणको ठूलो संख्यामा हत्या एवं मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।  राष्ट्रपति घानीले शुक्रबार नै अमेरिकी संसदकी सभामुख नान्सी पेलोसी र रिपब्लीकन पार्टीका सांसदहरूसँग भेटघाट गरेका थिए । उनले बिहीबार सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेलसँग पनि भेट गरेका थिएल ।  अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको मृत्यु हुनुका साथै २० हजारभन्दा बढी घाइते भएका छन् । युद्धका क्रममा तीन हजार ८०० भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएको विभागको भनाई छ । 
यस युद्धबाट अफगानी सर्वसाधारण अझ बढी प्रताडित भएका थिए । युद्धमा ६६ हजार भन्दा बढी अफगानी सेनाको ज्यान गएको थियो भने २७ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । उनीहरूमध्ये अधिकांश इरानतर्फ पलायन भएका थिए ।
अमेरिकी सेनाको सबैभन्दा ठूलो हिस्सा स्वदेश फर्किए पनि अमेरिकी कुटनीतिज्ञको सुरक्षाका लागि करिब ६५० जना सैनिक मात्र अफगानिस्तानमा तैनाथ हुनेछन् । अमेरिकी अधिकारीहरूका अनुसार अर्को दुई साताभित्र कुटनीतिज्ञहरूको सुरक्षा व्यवस्था टुङ्गो लाग्नेछ । केही सय अतिरिक्त अमेरिकी फौज काबुल विमानस्थलमा सेप्टेम्बरसम्म रहने सम्भावना छ । उनीहरूले टर्कीका सेनालाई आवश्यक सुरक्षा प्रदान गर्नेछन् । 
समग्रमा, अधिकारीहरूले अमेरिकी र गठबन्धनको सैन्य कमान्ड, यसको नेतृत्व र अधिकांश सैनिकहरू जुलाई ४ सम्ममा वा त्यसको केही समयपछि फिर्ता हुने योजना रहेको बताएका छन् । यो योजना केही महिना अघि नै तयार भइसकेको बताइएको छ । 
यद्यपी सैन्य फिर्ता सम्बन्धी विस्तृत विवरण दिन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन् । पछिल्लो समय अफगानिस्तानमा चार हजारको हाराहारीमा अमेरिकी सेना बाँकी रहेको बताइएको छ । अमेरिकी सेनाको फिर्तीसँगै केही महिनाभित्रै अफगानिस्तानको सरकार र सैनिक पतन हुने अनुमान गरिएको छ । पछिल्लो समय तालिबान समूहले देशका धेरै जिल्लामा निरन्तर कब्जा गर्दै गएको र कैयौं जिल्लामा सेना एवं प्रहरीले आफ्ना पोस्टहरू छाड्न थालेका छन् । 
अमेरिकी राष्ट्रपतिको “ओभल कार्यालय”मा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति घानीले राष्ट्रपति बाइडेनसँगको छलफल सकारात्मक रहेको बताए । उनले अमेरिकी सहयोग निरन्तर राख्ने बाइडेनको भनाईबाट आफूहरू आशावादी रहेको बताए । तर उनले आगामी दिनमा कठिनाईहरू रहेको पनि स्वीकार गरेका छन् । 
बाइडनसँगको बैठकमा सहभागी अब्दुल्लाहले अमेरिकी सहयोगको निरन्तरताको आवश्यकताका बारेमा जोड दिएका थिए । “हामीले के कुरा बिर्सिरहेका हुन्छौ भने अल–कायदाले अफगानिस्तानमा एक निश्चित तह पार गरेको थियो जुन सबै मुलुकको सुरक्षाका लागि खतरा थियो,” अब्दुल्लाहले एपीसँगको भेटमा भने, “यदि अफगानिस्तानलाई पूर्ण रूपमा परित्याग गरियो, समर्थन गरिएन भने अफगानिस्तान फेरि एकपल्ट आतंकवादी समूहहरूको आश्रयस्थलमा परिणत हुने खतरा छ ।”
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार पेरिसमा बोल्दै अफगानिस्तानमा बढ्दै गएको हिंसाका बारेमा चिन्ता व्यक्त गरेका थिए । उनले भने, “यदि तालिबान समूहले जबर्जस्ती शासन सत्ता हत्याउन खोजे युद्धको नवीकरण हुने वा त्योभन्दा खराब अवस्था सिर्जना हुनेछ ।” तैपनि, राष्ट्रपति बाइडेनमाथि अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर केही रिपब्लीकनले तिखो आलोचना गरिरहेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नै सन् २०२० मा तालिबान समूहसँग सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी फौज स्वदेश फिर्ता गर्ने सम्झौता गरेका थिए । रिपब्लीकन नेता मिच क्याक्कोनेलले अफगानिस्तानबाट सेना फिर्ता गर्न बाइडन प्रशासनले हतार गरेको बताउँदै सेना फिर्ताबाट आतंकवादी त्रास अरु बढ्ने बताए । उनले अमेरिकी सैनिक फिर्तीमा ढिलाई गर्न पनि आग्रह गरेका थिए । 
तर ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पूर्व राष्ट्रपति ट्रम्पले नै सेना फिर्ता गर्नेगरी तालिबान समूहसँग सम्झौता गरेको बताउँदै अहिले त्यस सम्झौताबाट अमेरिका पछि हट्न नसक्ने स्पष्ट गरिन् । राष्ट्रपति बाइडनले अफगान राष्ट्रपति घानी र अब्दुल्लाहले सामना गर्नुपर्ने कठिन परिस्थितिका बारेमा जानकार रहेको पनि साकीले उल्लेख गरिन् ।–एपी
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार