सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली संघ र यूकेले ब्रेक्जिट पछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । डाउनिङ्ग स्ट्रीटमा आयोजित एक पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ ।’ जोनसनले ‘समग्र युरोपका लागि एउटा राम्रो सम्झौताू भएको उल्लेख गरेका छन् । युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिएको एक वर्षपछि यूके आगामी बिहीवार ईयूका व्यापार नीतिबाट अलग हुनेछ । सम्झौताको अर्थ यसको अर्थ व्यापार मामिलामा ठूलो परिवर्तन हो । यूके र ईयू अब दुई छुट्टाछुट्टै बजार हुनेछन् । एकअर्कामा स्वतन्त्र आवागमनको अन्त्य हुनेछ । तर कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा कर लगायत झेलिरहेका थुप्रै ब्रिटिश व्यापारका लागि व्यापार सम्झौता एउटा महत्वपूर्ण राहत हुनेछ । पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोनसनले भने, ‘हामीले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको सबैभन्दा ठूलो सम्झौता गरेका छौं ।’ ‘सम्झौताले हाम्रा कम्पनीहरूलाई हाम्रा युरोपेली साथीहरूसँग अझ बढी व्यापार गर्न दिनेछ’ उनले भने । ब्रसेल्समा आयोजित एउटा पत्रकार सम्मेलनमा युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेर लायनले भनिन्, ‘यो एउटा लामो र गाह्रो बाटो थियो । तर त्यसका लागि हामीले एउटा राम्रो सहमति गरेका छौँ ।’ उनले सहमति ‘निष्पक्ष’ र ‘सन्तुलित’ रहेको भन्दै अब ‘पाना पल्टाउने र भविष्य हेर्ने समय भएको’ बताइन् । आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले एउटा राम्रो सम्झौता भन्दै त्यसले नर्दन आयरल्यान्डसँगको सीमानाकामा कडा व्यवस्थालाई रोक्ने बताएका छन् । जर्मन चान्सलर एंगेला मर्केलले जर्मनीले समर्थन गर्न सक्ने खालको सहमति हुनेमा आफू विश्वस्त रहेको बताएकी छन् । युरोपेली संसद्का लागि प्रमुख ब्रेक्जिट संयोजकले सम्झौता आफूले अपेक्षा गरेको भन्दा कम महत्ववाकांक्षी भएको बताएका छन् । यद्यपि नजिकको साझेदारी गर्ने दिशामा त्यो पहिलो खुड्किलो भएको उनको विश्वास छ ।–बीबीसी