सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । बाहिरिने क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकिदिएका छन् । यसै महिना अमेरिकी कंग्रेसले उक्त विधेयक पारित गरेको थियो । अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता लग्ने र सैनिक अखडाहरूबाट अमेरिकी गृहयुद्धकालीन सैनिक जनरलहरूको नाम हटाउने व्यवस्थाको ट्रम्पले विरोध गर्दै आएका छन् । सामाजिक सञ्जालहरूलाई प्राप्त जवाफदेहितासम्बन्धी बचाउ गर्ने अधिकार पनि ट्रम्पले हटाउन चाहेका छन् । सांसदहरूले बहुमतले ती विषयलाई अनुमोदन गरेका थिए र विधेयक रोक्ने राष्ट्रपतिको कदमलाई खारेज गर्न सक्छन् । कंग्रेसले पारित गरेका विधेयकहरू कानुन बन्न राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुपर्छ । नीतिगत असहमति हुँदा विरल अवस्थामा राष्ट्रपतिले विधेयकलाई रोक्न आफ्नो विशेषाधिकार प्रयोग गर्न पाउँछन् । सांसदहरूले राष्ट्रपतिको विशेषाधिकारलाई खारेज गर्न सक्छन् ।संसद्को दुवै सदनमा दुई तिहाइ बहुमत पु¥याएर विधेयकलाई कानुनी रूप दिलाउन सक्छन् । कंग्रेसले यो मामिलामा ट्रम्पको विशेषाधिकारलाई खारेज गरेन भने ६० वर्षयता पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट (एनडीएए) कानुन बन्न पाउने छैन । पैँतालीस सय पृष्ठ लामो एनडीएएलाई ट्रम्पले ‘चीन र रुसका लागि उपहार’ भएको आरोप लगाएका छन् । ‘दुर्भाग्यवश, गम्भीर राष्ट्रिय सुरक्षाका कदम समेट्न विधेयक विफल रहेको छ, लामो समय सेवा गरेका हाम्रा सैनिकको सम्मान गर्न तथा सैनिकहरूको इतिहासलाई नसमेट्ने प्रावधान त्यसमा छन् । राष्ट्रिय सुरक्षा तथा विदेश नीतिको मामिलामा अमेरिकालाई प्राथमिकतामा राख्ने मेरो प्रशासनको नीतिसँग मेल खाने खालको छैन’, ट्रम्पले एउटा वक्तव्यमा भनेका छन् । स्वदेश फर्काउने अमेरिकी फौजको संख्या सीमित तुल्याउने विधेयकको व्यवस्थालाई पनि उनले ‘असंवैधानिक’ भनेका छन् । आगामी जनवरी २० तारिख ट्रम्पको कार्यकाल सकिँदैछ । उनलाई राष्ट्रपति निर्वाचित जो बाइडनले विस्थापित गर्नेछन् ।–बीबीसी