गण्डकीका मुख्यमन्त्री नेपालीलाई विश्वासको मत

शुक्रबार, असार ४, २०७८

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राखेको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गरेका थिए । आजको बैठकमा ५८ सदस्य उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र राजीव गुरुङले समर्थन गरेका थिए । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २७ प्रदेशसभा सदस्यले विश्वासको मतका विपक्षमा मतदान गरेका थिए । गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज मत लिएका हुन् । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएका खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ । सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उनले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गर्ने जनाइएको छ । मुख्यमन्त्रीमा शपथ लिँदा उनले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गरेका थिए । ती मन्त्रीहरुको कार्यविभाजन बाँकी  छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार