ललितपुर महानगरले रिङरोडमा स्मार्ट बत्ती जडान गर्ने

नगरप्रमुख भन्छन, ‘यो बत्तीले रिङरोड उज्यालोसँगै सुरक्षित हुन्छ ’
बिहीबार, असार ३, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाले रिङरोडमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । महानगरपालिकाले ललितपुरलाई उज्यालो सहर बनाउने अभियान अन्तर्गत महानगर अन्तर्गत पर्ने बालकुमारी – बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो ।

सडक बत्ती जडानका लागि महानगरपालिका, विद्युत प्राधिकरण र सडक विभागबीच मंगलबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक अर्जुन थापाले हस्ताक्षर गरेका छन् । सो सडक बत्ती जडानका लागि करिब १७ करोड ३६ लाख रकम लाग्ने अनुमान गरिएको छ । महानगरले कुल लागतको ६० प्रतिशत रकम बेहोर्नेछ भने नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने भएको छ ।

ललितपुर महानगरले बेहोर्ने ६० प्रतिशत रकममध्ये ३ करोड रकम सडक विभागले खर्च गर्ने महानगरले जनाएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरले रिङरोडलाई उज्यालो र सुरक्षित बनाउन यो बत्ती जडान गर्न लागेको बताए । उनले भने,‘ रिङरोड हेर्दा आधुनिक र आकर्षक देखिएपनि असुरक्षित छ, बत्ती नहँदा रातमा हुने दुर्घटनाले धेरैको ज्यान गएको छ ।’ यो बत्तीको जडानले यो सडकलाई सुरक्षित बनाउने बताउँदै दुर्घटना कम हुने दाबी गरे । उपप्रमुख गीता सत्यालले सडक बत्तीको जडानले रिङरोड सुरक्षित हुने बताइन् ।

उनले भनिन् ‘यो किलर वे भएको छ , दुर्घटना हुँदा धेरैको ज्यान गएको छ, यो बत्तीले रिङरोड सुरक्षित हुने निश्चित छ । ’नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्मार्ट सडक बत्ती प्रभावकारी भएको बताउँदै यो बत्ती जडानका लागि ललितपुर महानगरले लिएको अग्रसरताको प्रशंसा गरे । यो बत्तीले सहरलाई सुन्दर बनाउने बताउँदै अन्यत्र पनि यो बत्ती जडानका लागि प्रक्रिया अघि बढाउनु आवश्यक भएको उनको भनाई थियो । सडक विभागका महानिर्देशक अर्जुन थापाले स्मार्ट बत्तीको जडानले दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्ने बताए । रिङरोडलाई सुरक्षित बनाउन विभिन्न योजनामा विभागले काम गरिरहेको उनले जानकारी दिए ।

महानगरपालिकाले यसअघि बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ ।

महानगरपालिकाले अर्को चरण अन्तर्गत महानगरको रिङरोड बाहिरका बस्तीहरु खोकना, बङमती, हरिसिद्धी , सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडान गर्न टेण्डर प्रकाशित भइसकेको वरिष्ठ इन्जिनियर रुद्रप्रसाद गौतमले जानकारी दिए । कार्यक्रममा वडा अध्यक्षहरु, महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल , शाखा, महाशाखाप्रमुखहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार