थप उपचारका लागि एमाले नेता झलनाथ खनाललाई भारत लगियाे

नयाँदिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिने
बुधबार, असार २, २०७८

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ ।  नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट  थप उपचारका लागि अपराह्न साढे १२ बजे   नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उनका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने जानकारी दिए ।  यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गरेका छन् । नर्भिक अस्पतालमा पुगी उनले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिएका छन् । सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गरेका थिए 

स्वास्थ्यावस्था स्थिर
नर्भिक अस्पतालमा रहँदा उनको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।  ज्वरोसंँगै  थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई जेठ ३१ गते  अस्पताल भर्ना गरिएको थियो । नेता खनालको  फोक्सोमा पानी जमेको  र सोही कारणले अक्सिजनको कमी देखिएको थियो ।  नर्भिकमा उनको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उनको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताए ।   हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उनलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।  कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताए । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।-रासस

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार