देउवा–प्रचण्ड–नेपाल वार्तामा गठबन्धनलाई थप सशक्त बनाउनेबारे छलफल

मंगलबार, असार १, २०७८

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरू गठबन्धनलाई थप सशक्त बनाएर अघि बढ्न सहमत भएका छन् । प्रधानमन्त्री केपी ओलीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै बनेको विपक्षी गठबन्धनले एकपछि अर्को सफलता प्राप्त गरिरहेका वेला शीर्ष नेताहरूले थप सशक्त र विश्वासको वातावरण बनाएर अघि बढ्ने सहमति गरेका हुन् । छलफलका लागि सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका थिए । नेताहरूबीच साँझ साढे ५ बजेदेखि एक घन्टासम्म छलफल भएको थियो । छलफलमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी थिए । सरकारका गलत गतिविधिविरुद्ध निरन्तर खबरदारी गर्दै आएको गठबन्धनका नेताहरूबीच पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका कमीकमजोरीबारे छलफल भएको खड्काले जानकारी दिए । ‘समसामयिक राजनीतिक घटनाक्रम, सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका गतिविधिको समीक्षा भयो । संविधान र लोकतन्त्रको रक्षाका निम्ति जुन विपक्षी गठबन्धन बनेको छ, त्यसलाई कसरी थप सशक्त बनाएर अघि बढ्ने भन्नेमै छलफल केन्द्रित भयो,’ खड्काले भने । विपक्षी गठबन्धनले प्रतिनिधिसभाको विघटन गर्ने निर्णय बदर गर्न र संविधानको धारा ७६ ९५० बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन् । सो मुद्दामा आगामी ९ असारदेखि निरन्तर बहस हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार