सङ्क्रमण पुष्टि दर २० प्रतिशतभन्दा कम

सोमबार थपिए २९ सय बिरामी, ५३ जनाको मृत्यु
मंगलबार, असार १, २०७८

काठमाडौं । नेपालमा गत २४ घण्टामा २,९१८ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिडका कारण थप ५३ जनाको मृत्यु भएको छ । सोमवार प्रकाशित विवरणअनुसार ५,१४७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ८७.८ प्रतिशत छ भने मृत्यु दर १.४ प्रतिशत रहेको छ । नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या छ लाख ३२ हजारको हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार जति छ । मन्त्रालयका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरूमध्ये काठमाडौंको सङ्ख्या सर्वाधिक ३९६ रहेको छ । अहिले ४३ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा धेरै रहेको छ । त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८,४६५ पुगेको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत २४ घण्टामा कुल १४,८१९ जनाको परीक्षण गरिएको थियो । ती मध्ये ९,४३८ जनाको पीसीआर र ५,३८१ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १९।७ प्रतिशत छ । सोमवार कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको ८५८ जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ३९ प्रतिशतजति र पुरुष ६१ प्रतिशतजति रहेका छन् । हाल आईसीयूमा रहेका बिरामीको सङ्ख्या ९९५ रहेको छ भने भेन्टिलेटरमा ३२४ जना रहेको मन्त्रालयको तथ्याङ्क छ। सक्रिय सङ्क्रमितमध्ये ४,६८२ बिरामी संस्थागत आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार