सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीयता कार्यान्वयनका सिलसिलामा प्रदेश सभा सरकारले आफूले पेश गरेका नीति तथा कार्यक्रमहरु धमाधम पारित गरेका छन् । गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनले सरकार बनाएसँगै आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । बाँकी ६ वटौ प्रदेश सरकारले प्रदेश सभामा पेश गरेका नीति तथा कार्यक्रमहरु पारित गरी भोलि बजेट प्रस्तुत गर्ने तयारी थालेका छन् । नीति तथा कार्यक्रम पारित गर्न सत्तारुढ दल नेकपा एमालेको अल्पमत समूहले संस्थापन पक्षलाई सहयोग गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेशसभामा बिहीबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आइतबार पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गरेका हुन् । त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भने, ‘कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ । बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार गर्नेछौँ ।’ उनले जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०÷१० गरी ६४० परिवारलाई महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको पनि पारित
सुदूरपश्चिम प्रदेशसभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रमको पक्षमा बहुमत रहेको जानकारी दिँदै नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । यसअघि नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलमा आएका सुझावलाई मनन गरी बजेटमा समेटिने र बजेट बिनियोजनमा कुनै भेदभाव नराखिने बताए । देशमा विकासको ‘मोडेल’ केहो भन्ने कुरा अहिलेसम्म ठोेसरूपमा आउन नसकेको बताउँदै मुख्यमन्त्रीले भट्टले भने, ‘विकासको मोडेल स्पष्ट ढङ्गले नबनाइकन विकास गर्न कठीन छ ।’ उनले देशको पछिल्लो राजनीतिक परिस्थितिले सत्तापक्ष र प्रतिपक्षभन्दा पनि प्राप्त उपलब्धि जोगाउँदै विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित प्रदेश नं १ को प्रदेशसभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । दुई दिन लगातार नीति तथा कार्यक्रममा छलफल हुँदा पहिलो दिन १० जनाले र दोस्रो दिन २२ जना सांसदले आ–आफ्ना राय, सुझाव र विचार व्यक्त गरेका थिए । मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफमा सांसदहरूको सल्लाह, सुझाव, राय र विचारलाई मार्गदर्शकको रूपमा लिने बताए । उनले सरकारले कोभिड–१९ बाट आम नागरिकलाई बचाउन पहिलो प्राथमिकतामा राखेको धारण राख्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने कुरामा जोड दिए । मुख्यमन्त्री राईले हामी समृद्धिको यात्रामा रहेको र तीन वर्षको अवधिमा धेरै उलब्धि हासिल गरेको चर्चा गर्दै सपना र महत्वकांक्षाले मात्र जनताको आवश्यकतालाई पूरा गर्न सकिने स्पष्ट पारे । उनले समृद्धि बाजा बजाएर वा धुप बालेर नआउने यसका लागि खोज र अविष्कार गर्नु पर्छ भन्दै सरकार घरेलु उत्पादनलाई ‘ब्राण्ड’ बनाउने दिशामा रहेको बताए । उनले अधिवेशनमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पनि सदनमा पेश हुने जानकारी दिए । नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा, नेकपा (माओवादी केन्द्र)को तर्फबाट मोहनचन्द्र खड्का र जनता समाजवादी पार्टीको तर्फबाट जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए । सांसद यादवको सबै बुँदाहरू मुख्यमन्त्री राईले स्वीकार गरेपछि प्रस्ताव फिर्ता लिएका थिए । अन्य दुई दलले दर्ता गरेको प्रस्ताव फिर्ता नलिएपछि बहुमतबाट अस्वीकृत भएको थियो ।