सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाहरूको स्तन क्यान्सर, पाठेघर र मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय लिएका छन् । मुख्यमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै शनिबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उनले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय पनि गरेका छन् । मनसुन शुरु भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका हुन् ।
पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाइने मुख्यमन्त्री पोखरेलको अध्यक्षताम आइतबार बिहान पहिलो मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्ने निर्णय गरेको छ । ‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ,’ मन्त्री कुमार खड्काले जानकारी दिए ।
सरकारको प्रवक्तामा खड्का मन्त्रिपरिषद बैठकले मन्त्री कुमार खड्कालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् । जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने बाध्यता गण्डकी सरकारलाई छ । सरकारको प्रवक्ताको जिम्मेवारी पाएका कुमार खड्काले भने, ‘उहाँसँग मुख्यमन्त्री (कृष्णचन्द्र नेपाली पोखरेलसँग) अहिले अर्थ मन्त्रालय पनि छ । बजेट उहाँले नै वाचन गर्नुहुन्छ ।’ नेपाली कांग्रेसका पोखरेल शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनीसँगै चार मन्त्रीले सपथग्रहण गरे पनि मन्त्रालय बाँडफाँट गरिएको छैन । सबै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफू मातहत राखेका छन् । प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिए । ‘विश्वासको मत नलिइकन, सरकार स्थिर नभइकन महत्वपूर्ण काम किन गर्नु भनेर प्रश्न उठाएको हो । त्यो प्रश्न हामीमाथि पनि आउँछ भन्ने लागेको छ’ उनले भने ।