सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा विगत २४ घण्टामा ३,७५० जना कोभिड बिरामी थपिएका छन् । त्यस अवधिमा ६७जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कुल १५,१८२ नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो । तीमध्ये ५,५८४ एन्टिजेन परीक्षण हो जसबाट १,०४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । थप ५,२२५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल सङ्क्रमित सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ जसमध्ये अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन् । अहिलेसम्म कुल ८,३०५ जनाको मृत्यु भइसकेको छ। सक्रिय सङ्क्रमितमध्ये ५,५८९ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी १,१८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् । हाल काठमाडौंमा सक्रिय सङ्क्रमित १०,०५१ जना छन् । त्यसैगरी भक्तपुरमा २,९४६ जना र ललितपुरमा ३,९९४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुवै मात्रा खोप झण्डै साढे २३ लाखले लिएको र पहिलो मात्रा खोप झण्डै ६ लाखले लिएको पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा जनाइएको छ ।
भारतमा लगाचार चौथो दिन एक लाखभन्दा कम सङ्क्रमण
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रवार बिहानको विवरणअनुसार विगत २४ घण्टामा त्यहाँ ९१ हजार ७ सय २ नयाँ सङ्क्रमण पाइएको छ । त्यहाँ दैनिक सङ्क्रमणको सङ्ख्या एक लाखभन्दा तल देखा परेको यो चौथो दिन हो । त्यस अवधिमा भारतमा कुल ३ हजार ४ सय २ जनाको कोभिडका कारण निधन भएको थियो । भारतमा हाल ११ लाख भन्दा बढी सङ्क्रिय सङ्क्रमित रहेका छन् । बिहीवार साँझसम्ममा भारतमा २४ करोड ६० लाखभन्दा बढीले कोरोनाभाइरसविरुद्ध खोप लगाइसकेका छन् ।