ओलीले विस्तार गरे मन्त्रिपरिषद्

खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी 
बिहीबार, जेठ २७, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।

 

गृहमा खगराज
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे ।  बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन् । रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु मन्त्री बन्ने सम्भावना टरेको थियो । जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । 

सञ्चारमा बादल पत्नी नैनकला

विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी हुन् । ५ पुसको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खोमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए । २३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्यूँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको संसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे । २७ वैशाखमा संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली ३१ वैशाखमा संसदको सबभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भए । उनले अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहो¥याए । तर सर्वोच्चले ६ जेठमा बाललसहितका ७ मन्त्रीलाई पदपुक्त गरिदियो ।
प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् ।  एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् ।  एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् । यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार