अमेरिकाले ‘विश्वका लागि ५० करोड खोपको मात्रा खरिद गर्ने’

बिहीबार, जेठ २७, २०७८

लण्डन । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने संयुक्त राज्य अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन् । यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ । अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेको छ । अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि खोप वितरण सम्बन्धी पछिल्ला खबरहरू सार्वजनिक भएका हुन् । ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले केही बताएको छैन । तर विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले भने, 'मसँग एउटा छ र म त्यो घोषणा गर्नेछु ।'
बुधवार साँझ सफोकस्थित आरएएफ मिलडनहल हवाई अखडामा अमेरिकी एअर फोर्स वान विमान अवतरण गरेको हेर्न एउटा ठुलो भीड उपस्थित थियो । बाइडनले उक्त अखडामा उपस्थित अमेरिकी सैनिकका परिवारहरूलाई सम्बोधन गर्दै न्याश्नल गार्डका रूपमा काम गरेका आफ्ना दिवंगत छोराको पनि सम्झना गरेका थिए । उनले अमेरिकी साझेदारहरूलाई 'समान विचार भएका राष्ट्रहरू' भन्दै अमेरिका पुनः फर्किएको' बताए । विश्वका लोकतन्त्रहरू सबैभन्दा कठिन चुनौतीहरू र भविष्यका लागि सबैभन्दा महत्त्व राख्ने विषयहरूमा एक ठाउँमा उभिएको उनले बताए । पछि उनले कोर्नवालको भ्रमण गरेका थिए ।
अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम कुनामा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दैछन् । आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानीसँग विन्डजर क्यासलमा भेट्नेछन् र राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनेछन् । उनले यो भ्रमण 'अमेरिकाले विश्वका लोकतन्त्रहरूप्रति समर्थन जनाउने' विषयसँग जोडिएको पनि उल्लेख गरेका छन् । युरोपको आफ्नो भ्रमणको अन्त्यमा उनले आफ्ना रुसी समकक्षी भ्लादीमिर पुटिनसँग भेट्ने कार्यक्रम छ ।

कसलाई दिइनेछ खोप 
रोयटर्स समाचार संस्थाका अनुसार अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी संघलाई उक्त खोप सहयोग गर्ने जनाएको छ । कोभ्याक्स कार्यक्रममार्फत सो खोप वितरण गरिने भनिएको छ । अघिल्लो वर्ष स्थापित कोभ्याक्सले धनी र गरिब देशहरूबीच खोपको पहुँचमा विभेद नहोस् भन्ने आवाज उठाउँदै आएको छ । अमेरिकाले यसअघि कोभ्याक्समार्फत ६ करोड खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकाले ती खोप 'नाफाका लागि निर्धारण नगरिएका मूल्य' मा खरिद गर्नेछ । फाइजरका प्रमुख कार्यकारी अर्ल्बट ब्रुला यो अभियानको घोषणा हुँदा राष्ट्रपति बाइडनसँगै उपस्थित हुने ठानिएको छ । यसै हप्ता बेलायतका प्रधानमन्त्री जोनसनले अर्को वर्षको अन्त्यसम्म विश्वलाई खोप लगाइसक्ने प्रतिबद्धता गर्न आफूले जी सेभेनका नेताहरूलाई अनुरोध गर्ने बताएका थिए । बेलायत र क्यानडाले कोभ्याक्स कार्यक्रमलाई आफूले दिने खोपको परिणामबारे खुलाएका छैनन् । जी सेभेनमा विश्वका सात समृद्ध अर्थतन्त्र भनिने देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र संयुक्त राज्य अमेरिका अनि युरोपेली स‌ङ्घ पनि आबद्ध छ । यसपटक शिखर बैठकमा कोभिडपछिको पुनर्स्थापना र बलियो स्वास्थ्य प्रणालीबारे छलफल हुनेछ ।-बीबीसी

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार