गण्डकी प्रदेश सभामा विश्वासको मत लिँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ 

दीपक मनाङे निर्णायक बन्ने संकेत
बिहीबार, जेठ २७, २०७८

काठमाडौं । गण्डकी प्रदेश सभा बैठकमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनु एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्ति भएको ३० दिन भित्र विश्वासको मत लिनु पर्छ । यो हिसाबले मुख्यमन्त्रीले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्छ। उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।
जनमोर्चाले सांसदबाट कारबाही गरेका कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेसँगै थापाले मुख्यमन्त्रीको पक्षमा समर्थन गर्ने बताइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीको पक्षमा २८ जना सांसदको समर्थन हुने देखिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छाडेका छन् । योसँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । १५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । 
विश्वासको मत दिने अघिल्लो साँझ बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित भए । उनी विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् ।
सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले आफूलाई मन्त्री बनाएको, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने  अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको मनाङेले सुनाए । ‘सरकार जोगिन्छ, संसद विघटन हुन्न भनेर मलाई मन्त्री बनाएका हुन्’ उनले भने, ‘मलाई साथ देउ विघटन गरेर निर्वाचन गरम् भन्छन् । मुस्ताङका दुई सांसद र राजीव पहारी आएका थिए । मैले साथ दिन सक्दिन भनें ।’
जसले सांसद संख्या ३१ पुर्‍याएर आउँछ, उसलाई साथ दिने आफूले बताएको खेलकुद मन्त्री मनाङेले सुनाए । ‘साँझ क्याबिनेट मिटिङ पनि थियो । म आउँदिन, भनेर गइनँ,’ मनाङले भने, ‘प्रदेशसभा विघटनको कुरा लिएर आउँछ भने म मरे पनि जान्नँ भनेर निस्किएको हुँ ।’
उनले संसद जोगाउन चाहिने ३१ मत पुर्‍याउने जिम्मा आफ्नो भएको समेत दाबी गरे । ‘जसले ३० सांसदको हस्ताक्षर लिएर आउँछ, उसैलाई सहयोग गर्छु तर संसद विघटनको पक्षमा जान्नँ,’ मनाङेले भने, ‘संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ?’

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार