तीन मन्त्रीसहित प्रदेश २ सरकारमा काँग्रेस सहभागी 

राम सरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र विरेन्द्रप्रसाद सिंह मन्त्री
बुधबार, जेठ २६, २०७८

धनुषा । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकारमा नेपाली काँग्रेस सहभागी भएकाे छ । काँग्रेस र जसपाबीच बुधबार २ बुँदे सहमती भएको थियाे । जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले हस्ताक्षर गरेको सहमतीपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बद्र्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख गरिएको छ । सरकारमा काँग्रेसको तर्फबाट यादवको नै नेतृत्व सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ ।
यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरूको राय सहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाई मन्त्रिपरिषद् थपघट गर्न सकिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । जसपा नेतृत्वको सरकारमा  माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । आन्तरिक सहमति अनुसार काँग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउने बताइएको छ ।
यसैबीच जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । काँग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता रामसरोज यादवसहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका थिए ।  
कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी भएकाे हाे । यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी कांग्रेसकै पर्साबाट निर्वाचित ओमप्रकाश शर्मालाई ऊर्जा र खानेपानी मन्त्रालय र सर्लाहीबाट निर्वाचित विरेन्द्र प्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने पक्का भएपनि उनीहरूलाई कुन मन्त्रालयको जिम्मा दिइने अझै खुल्न सकेको छैन् । सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० बनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । 
प्रदेश २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा तथा सिचाई मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्याय तथा प्रदेश सभा मन्त्रालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय कायम गरिएको छ । 

सरकारको नीति तथा कार्यक्रम भोलि 
प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवकले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’ले भोलि दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ । सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा(एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए । आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको  योजना सच्याउने प्रतिवद्धता  व्यक्त गर्दे सोका लागि कानून मन्त्रीलाई निर्देशन दिएका थिए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार