एमाले प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

बुधबार, जेठ २६, २०७८

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले) का प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेको संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् । 
विपक्षमा मतदान गर्नेमा नेपालु चौधरी, गेल्बुसिंह बोहरा, लीलाधर भट्ट, रतनबहादुर थापा, माया तामाङ, पठानसिंह बोहरा र बलदेव रेग्मी रहेको जनाइएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारका मुख्यमन्त्री पक्षमा संसदीय दलको निर्णयानुसार एमालेका १७ जनाले भने मत दिएका थिए ।  एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेश एमाले संसदीय दलमा पूर्वनेता माधवकुमार नेपाल पक्षको बहुमत छ । मुख्यमन्त्री भट्ट सत्तासाझेदार दल एमालेमा उत्पन्न आन्तरिक किचलोका बीच सदनबाट विश्वासको मत लिन सफल भएका थिए । उनले प्रदेशसभाका ५२ सदस्यमध्ये बहुमत अर्थात् ३० मत पाएका थिए । एमालेका सात र राजपाका दुई गरी नौ जनाले विपक्षमा मत दिए । बाह्र सदस्य रहेको नेपाली कांग्रेस तटस्थ बसेको थियो । प्रदेशसभामा एमालेका सभामुखसहित २५ र माओवादी केन्द्रका १३ सदस्य छन् । सरकार गठनको तीन वर्ष पूरा हुँदा मुख्यमन्त्रीले प्रदेशसभामा  मंगलबार पहिलो पटक विश्वासको मत लिएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार