सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मुलुकभर मंगलबार पाँच हजार एक सय ५३ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा १७ हजार ६७६ नमूना परीक्षणमा पाँच हजार १५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा तीन हजार ८७० र पाँच हजार ६११ एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ । पिसिआर परीक्षण गरेकामध्ये सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ । यस्तै छ हजार ५७० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.७ प्रतिशत रहेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या पाँच लाख चार हजार ५३० पुगेको छ ।
१०८ जनाको निधन मन्त्रालयका अनुसार मंगलबार कोरोना भाइरस सङ्क्रमणबाट १०८ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९८ पुगेको छ । नेपालमा प्रति दश लाखमा २७७.९ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ ।
१३२१ आइसियु र ३७२ भेन्टिलेटरमा यसैगरी कोरोना भाइरस सङ्क्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष (आइसियु) र ३७२ जना भेन्टिलेटरमा छन् । आइसियुमा प्रदेश नं. १ मा २०२, प्रदेश नं. २ मा ७२, वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् । त्यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा ३४, प्रदेश नं. २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् । होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मृत्यु दर शून्यमा
दुई महिनायता सुदूरपश्चिम प्रदेशमा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । मंगलबार यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ५२१ नमूना परीक्षण गरिएकोमा २९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै यो प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४१ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ४३६ जना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयलका अनुसार प्रदेशका विभिन्न अस्पतालमा आज भेन्टिलेटरमा चार, सघन उपचार कक्षमा आठ र कोभिड वार्डमा १४ जना बिरामी भर्ना हुनुभएको छ । दोस्रो लहरको कारोना भाइरस सङ्क्रमण फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबैभन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि यही जेठ ३१ सम्म थपिएको छ ।