सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत

मंगलबार, जेठ २५, २०७८

धनगढी । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।  प्रदेश सभाको आजको बैठकमा उनका पक्षमा  ३० मत खसेको  थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गरे । सभामा कुल ५२ सदस्य  छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए। यसअघि नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने  निर्णय गरेको थियो ।  कांग्रेस संसदीय दलको आज  बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनका पक्षमा मतदान गर्ने निर्णय गरेको नेका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले जानकारी दिए । प्रदेशसभामा कांग्रेसका १२ सदस्य छन् । मुख्यमन्त्रीलाई  २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सदस्य रहेकामा एमाले संसदीय दलसमेतले समर्थन गर्ने निर्णय गरेको छ ।  सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का सदस्यले मुख्यमन्त्री  भट्टलाई विश्वासको मत नदिने निर्णय गरको थियो । केन्द्रमा भएको सत्ता समिकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीको भनाई छ । प्रदेशसभामा जसपाका चौधरी र मालामति राना गरी दुई  सदस्य रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार