सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

मंगलबार, जेठ २५, २०७८

कैलाली । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् । एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ । ओली पक्षको प्रदेश कमिटीले भने विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर प्रदेश कमिटीको निर्देशनलाई उपेक्षा गर्दै संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ । ओली पक्षले फ्लोर क्रस गरेको अवस्थामा समेत प्रदेश सरकारले खनाल–माधव पक्षका सांसदकै समर्थनमा विश्वासको मत हासिल गर्न सक्छ । प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार