सङ्क्रमण दर २५ प्रतिशत 

थप ४४ सय सङ्क्रमण, ९२ जनाको मृत्यु
सोमबार, जेठ २४, २०७८

 काठमाडौं । नेपालमा विगत २४ घण्टामा ४,४७२ जना कोभिड बिरामी थपिएका छन् । त्यस्तै सो अवधिमा थप ९२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। कुल १७,९०३ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो । तीमध्ये ५,९०२ एन्टिजेन परीक्षण हो जसबाट १,१०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  थप ६,९५१ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९१ हजारको हराहारीमा पुगेको छ जसमध्ये अहिले ७८,३६४ जनामा सक्रिय सङ्क्रमित छन् । कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन् । कुल सङ्क्रमितमध्ये ८४ प्रतिशत निको भएका छन् भने १।३५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन् । अहिलेसम्म कुल ७,९९० जनाको मृत्यु भइसकेको छ। सोमवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका छन् । राजधानीका ७९० जनासहित भक्तपुरका १३५ जना र ललितपुरका १९० जना गरी काठमाडौं उपत्यकामा थप १,११५ जना सङ्क्रमित थपिएका छन् । नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ७,१८० जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४३४ आईसीयूमा र ३९७ जना भेन्टिलेटरमा रहेका छन्।
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार