सोसल मिडिया
Contact Us
युनिकोड
धनुषा । केन्द्रमा देखिएको जनता समाजवादी पार्टी (जसपा)को विवाद प्रदेश तहमा पनि सरेको छ । एउटा पक्षले अर्काे पक्षलाई निष्काशन गर्ने क्रम केन्द्रले सुरु गरेकोमा अहिले प्रदेश २ मा पुगेको छ । विवादकै बीच प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको आज देखि सुरु हुँदैछ । बजेट अधिवेशन भएकाले विवादको असर यसमा पनि देखिने छ । प्रदेश २ मा सोमबार बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८÷०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ । प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ । नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको छ ।
महन्थ पक्षका चार मन्त्री बर्खास्त प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारमन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् । उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौथिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् । बर्खास्त भएका सबै महन्थ ठाकुर पक्षका हुन् । पार्टीभित्र चर्को विवादका बाबजुद ठाकुर पक्ष शुक्रबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारमा सहभागी भएको थियो । ८ मन्त्री र दुई राज्यमन्त्री लिएका प्रधानमन्त्री ओलीले जसपाबाट सरकारमा नेतृत्व गरेका राजेन्द्र महतोलाई उप्रधानमन्त्री बनाएका थिए । महन्थ पक्ष केन्द्र सरकारमा सहभागी भए लगतै जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका थिए । यादवकै सक्रियतामा आइतबार संसदीय दलको बैठकले मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई जसपाका ५५ मध्ये ३६ जना सांसदको साथ छ । उनको पक्षमा हस्ताक्षर गर्नेमा पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका ६ जना छन् । प्रदेश २ मा तत्कालीन संघीय समाजवादी पार्टीको २९, राजपाको २५ सिट थियो । स्वतन्त्रबाट निर्वाचित शेख अबुल कलाम आजाद पार्टी प्रवेश गरेपछि ५५ पुग्यो ।
अब कांग्रेस र माओवादी सरकारमा अब प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने जसपा अध्यक्ष यादवको तयारी छ । मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘छिट्टै मन्त्रिपरिषद् पुनगर्ठन गर्ने तयारी छ ।’ यसबारे कांग्रेस, माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सहमति भइसकेको जसपा स्रोतको दाबी छ । कांग्रेस र माओवादी केन्द्रका प्रदेश २ का नेताहरुसँग छलफल भइरहेको छ । ‘सत्ता सहकार्यको बारेमा छलफल भएको छ, तर ठोस निष्कर्ष निस्किन सकेको छैन’ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, ‘भोलि पनि बैठक छ । त्यो बैठक शायद निष्कर्षमा पुग्न सक्छ ।’ उनका अनुसार कांग्रेसले मुख्यमन्त्री दाबी गरेका छन् । तर जसपा नेताहरुले भने राउतकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन कांग्रेस सभापति शेरबहादुर देउवा सहमत भइसकको बताउँछन् । ‘उपसभापति विमलेन्द्र निधिजीले मुख्यमन्त्री दाबी गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले पनि सत्ता सहकार्यबारे छलफल भइरहेको बताए । अहिले भइरहेको छलफलअनुसार सहमति जुटेमा सरकारका लागि चाहिने बहुमत पुग्छ । प्रदेशमा हाल कायम रहेको १०४ सांसदमध्ये जसपाका ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद थपिँदा ६३ पुग्छ ।