भारतमा दैनिक सवा लाख मानिसमा देखिन्छ कोरोना संक्रमण 

दिल्लीमा लकडाउन खुकुलो पारिँदै 
आइतबार, जेठ २३, २०७८

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रबारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ । भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कूल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन् । कूल सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ । 

दिल्लीमा लकडाउन खुकुलो पारिँदै 
दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उनी निकट अधिकारीहरूले बताएका छन् । यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ । सम्मेलनमा आगामी दिनमा कोभिड–१९ सङ्क्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोनाभाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिने बताइएको छ । 
अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ । सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो ।– पीटीआई
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार