पार्टी एक रहने सम्भावना कम हुँदै गएको भन्दै छिट्टै निर्णय लिन नेपाल पक्षका नेताहरुको सुझाव

बैठक आज पनि बस्दै 
बिहीबार, जेठ २०, २०७८

काठमार्डौं । नेकपा (एमाले) को संस्थापन पक्षबाट निष्कासित झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टी एक हुने सम्भावना कम हुँदै गएको भन्दै आगामी कदमबारे छिट्टै निर्णय लिनुपर्ने सुझाव दिएका छन् । बिहीबार केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा खनाल–नेपाल पक्षको बैठकमा सुझाव राख्ने अधिकांश नेताहरुले यस्तो बताएका हुन् । छलफलमा नेता नेपालले पछिल्लो राजनीतिक घटनाक्रम, संस्थापन पक्षका नेताहरुसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । नेपालले अध्यक्ष केपी शर्मा ओली सच्चिने संकेत नदेखिएको र वार्ता, छलफलका नाममा फेरि झुक्याउन खोजेको कुरा दोहोर्‍याएका छन् । आफ्नो ब्रिफिङ सकेलगत्तै नेता नेपालले केन्द्रीय सदस्यहरुलाई आफ्ना राय, सुझाव राख्न भनेका थिए । सुझाव दिने क्रम नसकिएकाले शुक्रबारका लागि पनि बैठक राखिएको छ । अझै केही कमरेडहरु वार्ता, संवाद गरौं भनेर पनि सुझाव राख्नु भएको छ । तर पार्टी एक हुने सम्भावना कम देख्छु । अब नयाँ कदम चाल्नुपर्छ भन्ने धेरै साथीहरुको सुझाव छ’ बैठकमा सहभागी नेताले भने । बैठकमा नेता खनालले सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताएका थिए । नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गरे ।
‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ,’ नेता खनालले भने ।  ‘केही काम दिनुहुन्छ भने तयार छौं । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु बढ्नुपर्छ,’ खनालको भनाइ थियो । एमाले धार निर्माणका संस्थापक नेता खनालले पटकपटक गरी  एक दशक बढी पार्टीको नेतृत्व गरेका छन् । २०३९ सालमा खनाल नेकपा मालेका महासचिव बनेका थिए । फेरि २०६४ पछि खनाल एमालेको अध्यक्ष बनेका थिए । खनालपछि २०७१ बाट केपी शर्मा ओली एमालेका अध्यक्ष निर्वाचित भएका हुन् ।
तर अब आफ्नो पुस्ताको नेताहरु नेतृत्वबाट अलग हुनुपर्ने खनालले प्रस्ताव गरेका छन् । उनले ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने पनि बताए । ‘केपी ओपी कम्युनिष्ट नै होइनन् । उनीबाट आन्दोलन जोगिंदैन,’ खनालले भने । एजेण्डामा पार्टी नचलाइएकाले दक्षिणपन्थी प्रवृत्ति हाबी भएर गएको खनालले बताए । ‘पार्टी एजेण्डामा बाँच्नुपथ्र्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ,’ उनले भने । बैठकमा संस्थापन पक्षका नेताहरुसँग वार्ता, संवाद गरेका घनश्याम भुुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताले अनौपचारिक रुपमा भएका वार्ता-छलफलका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार