विपत्मा जनतासँग जोडिन  ‘विपी विपत् कोष’

बुधबार, जेठ १९, २०७८

काठमाडौं । कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपत् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको पार्टीका सभापति कृष्ण केसीले जानकारी दिए । 
पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गरी कोष निर्माण गरिने उनले बताए । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक, समर्थक गरी २५ हजारभन्दा बढी परिचालित हुने बताउँदैउनले यसका लागि पार्टीको क्षेत्र, प्रदेश, गाउँपालिका, वडा कार्यसमिति, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशमा रहनुभएका सबैलाई जुट्न आह्वान गरिएको बताए । 

कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार कोषको सञ्चालन र व्यवस्थापनका लागि एउटा छुट्टै समिति बनाइने भएको छ । विपत्का बेला कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली कांग्रेस कास्कीले कास्कीका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भ्रातृ संस्था र उद्योग–व्यवसायीसँग छलफल गरेको उहाँले जानकारी दिए  । उनका अनुसार अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई सहयोग गर्ने उद्देश्यले कोष निर्माण गर्न लागिएको हो । त्यस्तै, कोरोना सङ्क्रमणपछि मृत्यु भएका अति विपन्न परिवारलाई क्रिया खर्चका लागि सहयोग गर्ने, औषधिको अभावमा रहेका दीर्घरोगीलाई औषधि सहयोग गर्ने र भदौ २४ गते विपी जयन्तीको दिन अति विपन्न, दलित र अपाङ्गता भएका एक हजार जनालाई सहयोग गर्नेलगायत निर्णय गरेको प्रवक्ता सिग्देलले जानकारी दिए ।
–––

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार