सङ्क्रमण दरमा कमी, तर मृत्यु दर भने घटेन

सोमबार, जेठ १७, २०७८

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने घट्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या१०० भन्दा बढी नै छ । पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ । सङ्क्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश सङ्क्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन् । आज १५ हजार ५५ पिसिआर र दुई हजार ४२५ एन्टिजेन गरी कुल १७ हजार ४८० नमूना परीक्षण गर्दा चार हजार ७६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पाँच लाख ६१ हजार ३०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  
सङ्क्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत रहेको छ । एक लाख ६ हजार ४७० सङ्क्रमित आइसोलेनसमा छन् । आज छ हजार ४९१ जना सङ्क्रमणमुक्त भएका छन् । परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा सङ्क्रमण देखिएको छ जुन हालैका दिनहरूमा सबैभन्दा कम हो ।
नेपालमा कुल सङ्क्रमित संख्या पाँच लाख ६१ हजारभन्दा बढी पुगेको छ । तीमध्ये अहिले एक लाख छ हजार चार सय ७० जनामा सक्रिय सङ्क्रमित छन् । तीमध्ये ३९ प्रतिशत महिला हुन् ।
कुल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छने भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । बाँकी सक्रिय सङ्क्रमित छन् । 
कोभिडबाट सबैभन्दा बढी ६० वर्षभन्दा माथिका ३,९६३ जनाको मृत्यु भएको छ भने ५० देखि ५९ वर्षका १,४४२ जना, ४० देखि ४९ वर्षका १,०८४ जना र ३० देखि ३९ वर्षका ६२१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ जना १० वर्षभन्दा कमका, ३३ जना १० देखि १९ वर्षका र २०८ जना २० देखि २९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।  सोमबार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौ. जिल्लाका छन् ।  राजधानीका ८९० जनासहित भक्तपुरका २२० जना र ललितपुरका २५२ जना गरी काठमाडौं उपत्यकामा थप १,३६२ जना सङ्क्रमित थपिएका छन् । दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लामा मोरङ पनि रहेको छ ।
नेपालका ७७ मध्ये ५० जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप ११ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ७,३३८ जना संस्थागत आइसोलेशनमा छन् । तीमध्ये १,४९२ आईसीयूमा र ४२४ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार