खोप जुटाउन राष्ट्रपतिको सक्रियता 

खरिदमा सहजीकरण गरिदिन रुसी राष्ट्रपति पुटिनलाई पत्राचार
आइतबार, जेठ १६, २०७८

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पनि पत्राचार गरेकी छन् । राष्ट्रपति भण्डारीले पुटिनलाई नेपाललाई खोप खरिदको लागि सहजीकरण गरिदिनको लागि पत्र पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  राष्ट्रपति कार्यालयले जेठ १४ गते (शुक्रबार) परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ । रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि उनले अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ । कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नको लागि भन्दै राष्ट्रपति भण्डारीले दक्षिण छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गरेकी थिइन् । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग खोप खरिदमा सहजीकरण गरिदिनको लागि अनुरोध गर्न टेलिफोन संवाद गरेकी थिइन् । सोही सम्वादपछि सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त पनि गरेका थिए । राष्ट्रपति भण्डारीले जेठ १३ गते नै अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र पठाएर नेपाललाई खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उक्त पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले परराष्ट्र मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार