बिध प्रयोगशालाले ललितपुर महानगरलाई अक्सिजनसहितको सिलिण्डर 

थप स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता 
शनिबार, जेठ १५, २०७८

ललितपुर । बिध प्रयोगशालाले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएर ललितपुर महानगरपालिकालाई सहयोग गर्ने भएको छ । ललितपुर महानगरपालिका र बिध प्रयोगशाला बीच सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी अनुसार प्रयोगशालाले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर तत्काल महानगरलाई दिनेछ । समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र प्रयोगशालाको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले हस्ताक्षर गरे ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अक्सिजनको अभाव भइरहेको बेला अक्सिजनसहितको  सिलिण्डर उपलब्ध गराएकोमा धन्यवाद दिए । उनले भने,‘महानगरले संचालन गरेको आइसोलेसनमा राख्छौं , बाँकी हुँदा महानगरभित्रका अस्पताललाई आवश्यकता हेरेर उपलब्ध गराउँछौं ।’ नगरप्रमुख महर्जनले बिध प्रयोगशाला लगायत सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

बिधका भण्डारीले भने, ‘हामी महानगरलाई आवश्यक परे अन्य सहयोग गर्न पनि तयार छौं ।’ स्वास्थ्य क्षेत्रका जनशक्ति पनि महानगरलाई आवश्यक पर्दा उपलब्ध गराउन सक्ने उनले बताए । अन्य स्थानीय तहलाई पनि सहयोग उपलब्ध गराउने तयारी भएको बताउँदै ललितपुर महानगर प्राथमिकतामा परेको उल्लेख गरे । महानगरलाई थप सिलिण्डर आवश्यक परे उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे । उक्त प्रयोगशालाले छिट्टै काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा लगायत उपस्थित थिए । महानगर क्षेत्रभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई प्रयोगशालाले स्वास्थ्य सेवा पु¥याउने विषयमा पनि दुई पक्षबीच छलफल भएको थियो । दोस्रो भेरियन्टको सङक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि बिध प्रयोगशालाले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार