Dashain Banner
Dashain Banner

शेयर अभिमुखीकरण तालिमबाट लाभ लिए ललितपुर महानगर २४ नं. वडाका युवा–युवतीले (भिडियो)

शनिबार, जेठ ५, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले वडा भित्रका युवा–युवतीलाई लक्षित गरी आयोजना गरेको शेयर बजार सम्बन्धी ५ दिने अभिमुखीकरण तालिमका सहभागीहरूले आय आर्जनको अर्काे क्षेत्रबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेको जनाउँदै आगामी दिनमा यस क्षेत्रमा लाग्ने प्रतिवद्धता जाहेर गरेका छन् ।  लपुमनपा २४ नं. वडा कार्यालय धापाखेलको आयोजना तथा गंगापूर्ण सेवा केन्द्र प्रालिको व्यवस्थापनमा युवा–युवतीलाई लक्षित गरी शेयर तालिम आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै वडाअध्यक्ष दिनेश जंग पाण्डेले शिक्षित बेरोजगार युवा युवतीलाईृ लक्षित गरी तालिम कार्यक्रम आयोजना गरिएको जनाउँदै सानो लगानीबाटै भएपनि यो क्षेत्रमा प्रवेश गर्न शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष पाण्डेले प्रशिक्षार्थीहरूलाई यो क्षेत्रमा प्रवेशका लागि प्रेरित गर्दै भन्नुभयो, ‘आइपिओ भर्दा पनि सानो तिनो खर्चको जोहो हुन्छ । यसलाई व्यवसायकै रुपमा लैजाँदा आफ्नो दैनिक सहज हुँदै जानेछ ।’ समापन समारोहमा वडासदस्य उद्धब बस्नेतले तालिम लिएपछि प्रशिक्षार्थीहरूलाई शेयर बजार क्षेत्रमा क्रियाशील हुन शुभकामना दिनुभयो । कार्यक्रमका सभापति वडा सदस्य हरिकृष्ण मजर्हनले वडा कार्यालयले युवा युवतीलाई लक्षित गरी सीप मूलक कार्यक्रमहरू गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा शेयर विज्ञ सरोज भट्टराई तथा अजुर्न तिमिल्सिनाले प्रशिक्षार्थीलाई शेयरका आभारभूत तथा प्राविधिक पक्षकाबारेमा जानकारी गराएका थिए ।  अभिमुखीकरण कार्यक्रममा वडा नं. २४ का करिब २५ जना युवा–युवतीको सहभागिता रहेको थियो । घरमै बसेर कारोबार गर्न सकिने शेयर कारोबारमा कम्पनी छनोट गर्न सक्दा फाइदा लिन सकिनेबारेमा प्रशिक्षार्थीलाई जानकारी गराइएको थियो । गंगापूर्ण सेवा केन्द्रका कार्यक्रम संयोजक लुमकान्त भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा सदस्य निशा मालबुलको पनि उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार