ललितपुर महानगरपालिका २३ नं. वडामा आयोजित स्वास्थ्य शिविरमा महिलाको उल्लेख्य सहभागिता (भिडियाे)

३ सय महिलाको प्रारम्भिक परीक्षण
मंगलबार, जेठ १, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा सोमबार आयोजित पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परीक्षण (स्क्रिनिङं) मा ३ सय भन्दा बढी महिलाले सेवा  लिएका छन् । आधारभूत स्वास्थ्य केन्द्र प्रमुख स्वरुपा श्रेष्ठले वडा कार्यालय, वडा स्वास्थ्य कार्यान्वयन समिति तथा महिला स्वास्थ्य स्वयम्सेविकासहितको टोलीले शिविरका बारेमा व्यापक जनचेतना जगाउन सकेका कारण यति ठूलो संख्यामा शिविरमा महिला सहभागी गराउन सफल भएको जानकारी दिनुभयो ।  महिलाहरूमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर एचपिभी–डिएनए परीक्षण विधिबाट पत्ता लगाउने तथा स्तन क्यान्सर, आङ् खस्ने तथा फिस्टुला जाँच गर्न ललितपुर महानगरपालिकाले गत वर्षदेखि ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी २९ वटै वडामा अभियानकै रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । महानगरको २३ नं. वडामा आयोजित यो १७ औं शिविर हो । 
गत वर्ष यस्तै शिविरमार्फत एक हजार २४० जना महिलाको एचपिभि डिएनए विधिबाट ८ वटा वडामा प्रारम्भिक परीक्षण र उपचार गरिएको थियो । यो वर्षबाट २९ वटै वडाहरुमा स्क्रिनिङ सेवा विस्तार गरिएको हो । गत वर्ष परीक्षण गरिएका मध्ये १४ प्रतिशत महिलामा पाठेघरको क्यान्सर पोजेटिभ देखिएको थियो ।  सुरुमा वडावडामा पुगेर जनचेतना जगाउने, दोस्रोमा स्क्रिनिङ गर्ने र परिक्षण पछि पोजेटिभ देखिए उपचार समेत महानगरले नि ःशुल्क गराउने महानगरका जनस्वास्थ्य शाखाका दाताराम अधिकारीले जानकारी दिनुभयो । 

shibir-1-1715708592.jpg
‘पहिला वडावडामा पुगेर अभिमुखीकरण कार्यक्रम गर्ने, परिक्षण गर्ने र क्यान्सर पोजेटिभ आएका महिलाहरुलाई डाक्टरसँग छलफलमा ल्याएर उहाँहरुको क्यान्सर कुन अवस्थामा पुगेको हो सम्पूर्ण कुरा जानकारी गराउाछौं । जति पनि पोजेटिभ आएका हुनुहुन्छ उहाँहरुको महानगरपालिकाले निःशुल्क उपचार गराउने लक्ष्य हाम्रो छ’ स्वास्थ्य शाखाका अधिकारीले शब्दपाटीसँग भन्नुभयो । 
महानगरले नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा निःशुल्क  उपचार सेवा प्रदान गर्न लागेको हो । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण र उपचार सबैको पहुँचमा पुर्याउन जनचेतना बढाउने उद्देश्यले महानगरले पाठेघरको मुखको क्यान्सरविरुद्ध स्वास्थ्य शिविर सुरु गरी २९ वटै वडाहरुमा एक पटकमा दुई सय जनाको दरले स्वास्थ्य परिक्षण गराउने लक्ष्य लिएकाे छ । 
शिविरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिङ) का लागि संसार भरिमै प्रभावकारी मानिएको एचपिभि डिएनए विधिबाट परिक्षण गरिएको छ । महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको तथ्यांक छ । पाठेघरको क्यान्सर सुरुमै स्क्रिनिङ गरी उपचार गरे पूर्ण रुपले बच्न सकिन्छ । 
स्वास्थ्य शिविरका बारेमा वडाअध्यक्ष जीवन महर्जनले एचपिभि डिएनए विधिबाट प्रारम्भिक परीक्षण गर्न महानगरपालिकाले आयोजना गरेको शिविरमा वडावासी महिलाको उपस्थितिले आफूलाई उत्साहित बनाएको बताउँदै यस्ता शिविरबाट लाभ लिन आह्वान गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार