सोसल मिडिया
Contact Us
युनिकोड
दमासकस । सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । दुई दिन अघि भएको मतदानबाट उनी पुनः राष्ट्रपति निर्वाचित भएको बताइएको छ । सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेका हुन् । सिरियाको संसद्ले बिहीबार उनी पुन सिरियाको राष्ट्रपतिमा निर्वाचित भएको समाचार घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस पटकको निर्वाचनमा प्रतिद्धन्द्धीहरुको भन्दा उनले निकै धेरै मत ल्याएको बताइएको छ । उनले ९५.१ प्रतिशत मत पाएको सिरियाको संसदले घोषणा गरेको छ । यस पटक समेत गरी उनी सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका छन् । राष्ट्रपतिको कार्यकाल सात वर्षको हुनेछ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएका थिए । सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकैकडा बनाइएको थियो । सिरियाका आन्तरिक मामिलासम्बन्धी मन्त्री मोहमद अल रहमाउनले सिरियामा बुधबार भएको मतदान शान्ति सुरक्षाको व्यवस्था मिलाइएका कारण शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएका छन् । सिरियाका राष्ट्रपति बसार अल असदसहित यहाँका तीनजनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका थिए । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।–एएफपी