संसद् विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु 

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं । संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् ।जेठ ७ गते मध्यराति विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वाेच्चमा ३० वटा रिट दायर भएको छ । १९ वटा रिटमा बिहीबार एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए । ११ वटा रिट संवैधानिक इजलासमा सोझै दर्ता भएका थिए । विपक्षी १४६ सांसदहरुले दायर गरेको रिट पनि संवैधानिक इजलासमै छ ।  वैकल्पिक प्रधानमन्त्रीमा दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ सात गते मध्यराति संसद् विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन मिति घोषणा गरेकी थिइन् । यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।
बहस गर्न टाइम कार्ड 
संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न टाइमकार्ड लागू गरिएको छ । प्रधानन्यायाधीश जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार