महामारीबाट जीवन बचाउन सरकार प्रयासरत : प्रधानमन्त्री 

भन्छन्, 'जीवन रक्षाकै लागि ४ सय पर्ने अक्सिजन सिलिण्डर चीनबाट ५० हजार रुपैयाँ तिरेर ल्याएका छौं' 
बिहीबार, जेठ १३, २०७८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई  सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । “महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले  भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।”
उनले नागरिककै जीवन रक्षाका लागि रु ३००÷४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई ५० हजार रुपैयाँ तिरेर ल्याइएको र  खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको  जानकारी दिए।
प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर  स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र  स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिए । आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उहाँले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पारे । 
प्रधानमन्त्री ओलीले हिंसा अन्त्य गरी मानवाधिकारमा सुधार गर्नका लागि संगठित समूहबाट हुने मानवाधिकार उल्लंघनका घटना नियन्त्रणका लागि सरकारले ध्यान दिएको जनाउँदै सामाजिक न्याय, र  सम्मानपूर्वक बाँच्न पाउने सुरक्षा प्रत्याभूतिमा सरकारले काम गरिरहेको बताए । सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिशको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार