संसद् विघटनविरुद्धका रिटको सुनुवाइ प्रधानन्यायाधीशको बेञ्चमा 

बिहीबार, जेठ १३, २०७८

काठमाडौं । संसद् विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आजदेखि सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ भइरहेको छ । अहिले वीरभद्र जोशीसहितले दायर गरेको रिटमा सुनुवाई भइरहेको छ । अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुने गरी तोकेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने भोलिका लागि पेशी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३१ वटा रिट दर्ता भएका छन् । संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन् ।  संविधानको धारा ७६ (५) अनुसार केपी ओलीलाई पुन प्रधानन्त्री नियुक्ति गर्नुपर्ने जिकिरसहित पनि रिट निवेदन परेका छन् । गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार