सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता हुने नहुने विषयमा विभाजित भएको छ । स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ । तर यसअघि प्रदेश संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । एमालेको स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसको दोस्रो दिन एमाले प्रदेश कमिटीले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङसहित मन्त्रीलाई निर्देशनसहित पत्र दिएको छ । प्रमुख सचेतक तामाङलाई प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गराउन निर्देशन दिएको हो । प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सहभागी छन् । यी सबै मन्त्री एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल समूहका हुन् । एमाले प्रदेश कमिटीले तिनै मन्त्रीलाई फिर्ता भएर एमाले नेतृत्वमा सरकार बनाउन सहयोग गर्न निर्देशन दिएको छ । प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सचेतकसहित तिनै मन्त्रीलाई निर्देशनसहित पत्र पठाएको हुन् । एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले स्थायी कमिटीको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन मन्त्रीलाई फिर्ता हुन निर्देशनसहित पत्र दिइएको जानकारी दिए । प्रदेश कमिटी अध्यक्ष थापाले पार्टीको निर्णयविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिएका छन् । अहिले तत्कालका लागि कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलसँग छलफल गर्ने निर्णय गरिएको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । उनले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा नआएको बताइन् ।