लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याउँदै 

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान स्वीकृति, टोली गठन, सरुवा र नियुक्ति पदस्थापन लगायतका नौ वटा विषयमा विभिन्न निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छन् । लगानी सम्मेलनलाई ध्यानमा राख्दै सरकारले विदेशी लगानी ल्याउन सहज हुनेगरि केही कानुनहरु संशोधन गर्ने भएको हो । 
वैशाख १५ र १६ मा काठमाडौंमा हुने नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२औं बैठकको वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार सरकारले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीस फ्रयांक बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौं निवासी पूजा श्रेष्ठलाई चार वर्षका लागि मनोनयन गर्ने निर्णय गरेको छ । 
यस्ता छन् बैठकका  निर्णयहरुः
१.कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्वीस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्वीस फ्रैंक बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
२.कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)बाट पोखरा महानगरपालिकामा ग्रीन जब क्रिएसन थ्रु रिसाइक्लिङ एण्ड अपसाइक्लिङ परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ९.८ मिलियन अनुदान सहायता स्वीकार गर्ने ।
३. वैशाख १५ र १६ मा काठमाडौंमा हुने नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२औं बैठकको वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।
४. विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनस्र्थापन तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने । 
५.सांस्कृतिक संस्थानको रिक्त सञ्चालक पदमा काठमाडौं निवासी पूजा श्रेष्ठलाई चार वर्षका लागि मनोनयन गर्ने ।
६. नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्ने स्वीकृति दिने ।
७. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गर्ने ।
८. सचिव मधुकुमार मरासनीलाई अर्थ मन्त्रालयको सचिव पदमा र सचिव डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने ।
९. सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ शेख तमिम विन अल थानीले गर्नुहुने नेपालको राजकीय भ्रमणका अवसरमा वैशाख ११ गते मंगलबारका दिन नेपालभर सार्वजनिक बिदा दिने ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार