सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शुक्रबार मध्यरात संसद् विघटन गरी मध्यावधि निर्वाचनमा जाने राष्ट्रपतिको कदमकाविरुद्ध सर्वाेच्च अदालत रिट निवेदन लिएर जाने तयारी गरेको विपक्षी गठबन्धन तयारी नपुगेको भन्दै भोलिमात्र सर्वाेच्च अदालत जाने भएको छ । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा जाने तयारीमा रहे पनि माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर नजुटेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जाने निर्णय गरेको हो । संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेका कारण भोलि बिहान आफूहरू भौतिक रूपमै अदालतमा उपस्थित भएर रिट दायर गर्ने बताए । उनले माधव नेपाल पक्षका सांसद घटेको भन्ने कुरा गलत रहेको भन्दै १४९ बाट संख्या बढेको दावी गरे । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि रिटको मस्यौदा तयार भएको तर सबै तयारी नपुगकाले भोलि जाने निर्णय भएको बताए । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न परमादेश माग गर्दै रिटको मस्यौदा तयार पारेका छन् । कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकले रिटको मस्यौदाबारे जानकारी दिँदै भने, ‘सर्वाेच्च अदालतले बहुमत सांसदको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्नुपर्छ र संसद् विघटन खारेज गर्नुपर्छ भनेर जाँदैछौं ।’ संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले देउवाको दावी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथग्रहणको बाटो खुल्ला गर्नुपर्ने लेखकले बताए । वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले रिटको मस्यौदा तयार भइसकेको तर दलहरुको तयारी बाँकी रहेकाले दलहरूबीच छलफलपछि मुद्दा दायर गरिने जनकारी दिए । अहिलेसम्म कांग्रेसका ६१ र माओवादीका ४९ सांसदको हस्ताक्षर भइसकेको छ । सबै सांसदको नागरिकता, सांसद परिचयपत्र र हस्ताक्षरको नमूना संकलनको काम सकिएको छ । दलहरुको आन्तरिक तयारीपछि नयाँ बानेश्वरको संसद भवनमा सबै सांसदहरुलाई बोलाएर रिटमा हस्ताक्षर गराइएको थियो ।
माधव पक्षका १९ सांसदको हस्ताक्षर विपक्षी दलहरुको गठबन्धनले संसद् विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका १९ जना सांसदले हस्ताक्षर गरिसकेका छन् । रिटमा जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैरु, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, भीमबहादुर रावल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङले हस्ताक्षर गरेका छन् ।