संसद् विघटन असंवैधानिक : सभामुख 

‘प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद् विघटन गरियो’
शनिबार, जेठ ८, २०७८

 काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । सभामुख सपकोटाले शनिबार वक्तव्य जारी गर्दै संसद् विघटन ११ फागुनमा सर्वाेच्च अदालतले गरेको फैसला विपरीत भएको दाबी पनि गरेका छन् ।  सभामुख सापकोटाले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ।’ संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद् विघटन गरिएको समेत उनले जिकिर गरेका छन् । उनले वक्तव्यमा भनेकाक छन्,

‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’ एनले भनेका छन्, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’  यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वाेच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ उनले भनेका छन् ।  ‘कोभिड–१९ महामारीको भयावह परिस्थिति भोगिरहेका नागरिकका लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय हो । तर, नयाँ राजनीतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्ने खतरा बढाउने छ । साथै मुलुक र जनतालाई थप आर्थिक भार पर्ने अवस्था पनि सृजना हुने पनि उनले वक्तव्यमा उल्लेख गरेका छन् ।  फेरि एकपल्ट, राष्ट्रिय हित, संवैधानिक सर्वाेच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु, माननीय सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजत तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन हार्दिक अपिल गर्दछु’ विज्ञप्तिमा सभामुख सापकोटाले भनेको छन् । सभामुख सापकोटाको यो वक्तव्य राजनीति दलका शीर्ष नेता तथा कानुनविद्हरूसँगको परामर्शपछि आएको हो । उनले शनिबार बिहानै देखि दलका नेता तथा कानुनविद्सँग पराशर्म गरको थिए ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार