सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपालसहितका सांसदमाथि कारवाही प्रक्रिया थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ जना सांसदसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन । माधव नेपाल पक्षका २६ जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले अरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
वाग्मती प्रदेशमा पनि १४ सांसदसँग स्पष्टीकरण नेकपा (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । उनका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।